अञ्जिला हेर्दा रोए दर्शक, के भनिन् प्रिति राईले ?
- सिने चौतारी
- २०८१ फाल्गुन ३० गते शुक्रबार
फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको सिनेमा अञ्जिला ले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ । बिहीबार पहिलो शो देखि नै दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको अञ्जिला हेर्दा दर्शकहरू भावुक बने।
निर्देशक मिलन चाम्स, कलाकार तथा निर्माता प्रेमकुमार श्रेष्ठ, कलाकार सुमीन गुरुङसहितको सिने टिम दर्शक भेट्न हल पुग्दा अधिकांश दर्शकहरू रोइरहेका देखिन्थे । त्यसो त, यो सिनेमाको प्रिमियर शो मा पनि दर्शकहरू भाव विह्वल भएका थिए, जुन क्रम दर्शकसम्म पुगेको छ ।
अञ्जिला नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । यो सिनेमामा एन्जिलाको साथमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

बिहीबार साँझ राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रीति राईले पनि अञ्जिला हेरिन । अञ्जिला हेरेपश्चात् दर्शकसँग साक्षात्कार गर्दै राईले एन्जिलाले सिनेमामा देखाइएको भन्दा पनि अझै धेरै सङ्घर्ष गरेको बताइन् । उनले भनिन् यो सिनेमामा देखाइएको भन्दा पनि धेरै सङ्घर्ष एन्जिलाले गरेकी छन्, जुन मलाई थाहा छ । नेपाली राष्ट्रिय महिला फुटबल खेलाडीहरूले आआफ्नो हिसाबले धेरै सङ्घर्ष गर्नुभएको छ । उहाँहरूले यति धेरै सङ्घर्ष गरेर नै आज हामीले खेलको क्षेत्रमा यो ठाउँसम्म आइपुगेका छौँ,ू । उनले थपिन् छोरीले फुटबल खेल्नु हुँदैन भन्ने सामाजिक दृष्टिकोण मैले पनि भोगेकी थिएँ, आज यो ठाउँमा उभिँदा मलाई पनि गर्व लागेको छ । सबैले अञ्जिला चलचित्र हेरेर एन्जिलालाई सहयोग गर्नुहोला । राई सशस्त्र प्रहरी बलको सुरक्षासहित हलमा आएकी थिइन् ।
अञ्जिलाले प्रदर्शनको पहिलो दिन देशभरका प्रायः शोहरूमा अपेक्षाभन्दा पनि माथि दर्शकको उपस्थिती रहेको निर्देशक चाम्सले बताएका छन् । अहिले सामाजिक सञ्जालमा अञ्जिलाको प्रशंसा भएका र दर्शक रोइरहेका भिडियो क्लिप्सहरू भाइरल छन् ।








