‘अभिमन्यु : च्याप्टर १’ का निर्माता पौडेलको आग्रह: ‘सानो सिनेमा भनेर पूर्वधारणामा नबस्नुहोस्’
- सिने चौतारी
- २०८२ मंसिर ८ गते आइतबार
काठमाडौं। फिल्म ‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल ले आफ्नो फिल्मलाई सानो सिनेमा भनेर पूर्वधारणामा नबस्न आग्रह गरेका छन् । उनको भनाइमा फिल्म ठूलो वा सानो ठहरिने मापदण्ड बजेट वा कलाकार नभई दर्शकको रोजाइ र बक्स अफिस परिणाम हो ।
पौडेलले ‘स्टारकास्ट नहुँदैमा सानो भन्नु पनि उचित होइन’ भन्ने तर्क राखेका छन् । उनले कमाइ ठूलो गर्ने फिल्म नै ठूलो मानिने बताए ।
पौडेलले यही तर्कलाई आफ्नो पहिलो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ मार्फत जोड दिएका छन् । डेढ करोड लागतमा तयार भएको उक्त फिल्मले नेपाली बक्स अफिसमा ४६ करोड ८० लाख रुपैयाँभन्दा बढी कमाइ गर्दै रेकर्ड बनाएको थियो । यो उदाहरणले सामग्री र स्वीकार्यता महत्वपूर्ण हुने प्रमाणित गर्ने उनको भनाइ छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको ‘अभिमन्यु : च्याप्टर १’ आगामी मंसिर १८ गते बाट प्रदर्शनमा आउनेछ ।
निर्देशक सुशान्त गौतमको फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ लगायत मुख्य भूमिकामा छन् ।
यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत तथा बिदेशका विभिन्न देशमा एकैपटक प्रदर्शनमा आउनेछ । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्मको छायांकन शरद महतो ले गरेका छन् ।








