सिने चौतारी मिडिया नेपाली तथा बाह्य सिने जगतमा घटित भईरहेका घटनाहरुको वर्तमानमा जानकारी प्रदान गर्ने र भविष्यको लागि संग्रहित गर्ने हेतुले संचालन रहेको छ।


सिने चौतारी ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि.

  • अध्यक्ष: दिवस हुमागाईँ
  • सम्पादक: सुमित्रा लामिछाने

सम्पर्क


हाम्रो सामाजिक सञ्जालहरु

शो थप हुँदा ‘अञ्जिला’को व्यापार झन आक्रामक


काठमाडौँ

बिहीबारदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा अञ्जिलाले शनिवार बम्पर व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन देखि नै चर्चा सुरु भएको यो सिनेमा हेर्न शनिवार नेपालभरका हलहरूमा दर्शकहरूको घुइँचो लागेपछि नयाँ शोहरू थपिएको वितरक करण श्रेष्ठले बताए । देशभरका मल्टिप्लेक्सदेखि सिङ्गल थिएटरसम्म हाउसफुल शोहरू देखिएको छ ।

दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै अञ्जिलाको गीत रात किन हुन्छ हजुर सामाजिक सञ्जालमा भाइरल भएको छ । थानेश्वर गौतम र शान्तिश्री परियारको स्वरमा रहेको यो गीतको प्रभाव यति गहिरो बनेको छ कि दर्शकहरूले यससँग जोडिएका भावुक पोस्टहरू सेयर गरिरहेका छन् । टिकटक, फेसबुक, युट्युब लगायतका प्लेटफर्महरूमा यस गीतमा विभिन्न भिडियोहरू बनिरहेका छन्, जसले सिनेमाको लोकप्रियतालाई अझ बढाइरहेको छ । यो गीतमा प्रभा बर्तौलाको शब्द रचना रहेको छ बने थानेश्वरले नै सङ्गीत दिएका छन् ।

यो सिनेमा हेर्दा दर्शकहरू भाव विह्वल भएका छन् । सिनेमाले स्वतन्त्र समीक्षकहरूको पनि मन जित्न सफल भएको छ । सोसल मिडियाहरूमा सिनेमाका बारेमा आएका समीक्षाहरू सबै सकारात्मक छन् भने, उनीहरूले ुअञ्जिलाुले नेपाली सिने उद्योगमा नयाँ रेकर्ड राख्न सक्ने सम्भावना जताएका छन् । यस सिनेमाको कथा, निर्देशन, अभिनय र गीत संगीतलाई व्यापक प्रशंसा मिलिरहेको छ ।

सिनेमाको टिम दर्शकहरूको साथ र प्रतिक्रियाबाट उत्साहित देखिएको छ । निर्देशक मिलन चाम्सले आफू सफल भइसकेको प्रतिक्रिया दिए । ‘सिनेमा निर्देशनको मेरो करियरमा यति धेरै खुसी कहिल्यै भएको थिइन । शो थप हुनासाथ हाउसफुल भएको देख्दा म दङ्ग छु । अञ्जिलालाई दर्शकहरूले यति धेरै माया गर्नुहुन्छ भन्ने मैले कल्पना गरेको थिइनँ । पहिलो दिनदेखि नै राम्रो प्रतिक्रिया पाइरहेको भए पनि शनिवारको बम्पर व्यापारले उत्साहित बनाएको छ । सिनेमा हेरेर दर्शकहरू भावुक भएका छन्, र यो सिनेमाले उनीहरूलाई प्रेरित गरिरहेको देख्दा हाम्रो टिमको मेहनत सार्थक भएको अनुभूति भइरहेको छ’ निर्देशक चाम्सले भने ।

अञ्जिला नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । यस सिनेमामा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।