‘कुमारी’ प्रवर्द्धनका लागि देशव्यापी लाइभ कन्सर्ट हुने, ‘केहर एन्ड द लुङा’ले प्रस्तुति दिने
- सिने चौतारी
- २०८२ पुस ९ गते बुधबार
माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली सिनेमा ‘कुमारी’को प्रचार–प्रसारलाई लक्षित गर्दै देशका विभिन्न सहरमा बृहत् ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना हुने भएको छ। सिनेमाको रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले सङ्गीतमार्फत दर्शकसँग प्रत्यक्ष जोडिन यस्तो कन्सर्ट शृङ्खला अघि सारेको हो।
कन्सर्ट शृङ्खला अन्तर्गत माघ १ गतेदेखि २३ गतेसम्म दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज, चितवन र धरानमा कार्यक्रम हुने तालिका सार्वजनिक गरिएको छ। यी सबै कन्सर्टमा सिनेमाका प्लेब्याक गायक केहरसिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले आफ्नो लाइभ प्रस्तुति दिनेछ। केहर र उनको ब्यान्ड युवापुस्तामाझ अत्यन्त लोकप्रिय छ। सिनेमाका गीतहरू दर्शकमाझ लोकप्रिय बन्दै गइरहेका बेला कन्सर्टले सिनेमाप्रति उत्साह अझ बढाउने अपेक्षा गरिएको छ।
यसअघि दुई गीतहरू ‘कता छौ …’ र ‘तिमी बिना …’ सार्वजनिक भई चर्चामा छन्। कन्सर्ट सुरु हुनु अगावै लोक लयमा आधारित रहने अर्को गीत पनि सार्वजनिक गर्ने तयारी निर्माण समूहले गरेको छ। यी सबै गीतमा केहरसिं लिम्बुको स्वर छ।
‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथात्मक सिनेमा निर्देशन गरिसकेका दिनेश राउतको निर्देशनमा बनेको ‘कुमारी’ भ्यालेन्टाइन डेको आसपास रिलिज हुन लागेको छ। त्यसैले सिनेमाले विशेष गरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ। सिनेमामा नयाँ अनुहार अबिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मालगायत कलाकारको पनि अभिनय रहेको छ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस सिनेमाका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल हुन्। कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन्। छायाङ्कन निर्देशन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्। डिजिटल वितरण केन्द्र मोसन पिक्चर्सले गरेको यस सिनेमाको काठमाडौं उपत्यकामा डिसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएटर वितरण गर्दैछन्।









